काठमाडौं, जेठ १३ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी २०८४ सालमा हुने निर्वाचनमा देशभरिका सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
साम्पाङले आफू इमानदार र बेदाग व्यक्तिहरूलाई उम्मेदवार बनाउने सोचमा रहेको स्पष्ट पारेका छन्। मंगलबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् साम्पाङले लेखेका छन्, “८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिनेछौं। दाग नलागेका इमानदार र काम गर्न चाहनेहरू हाम्रा उम्मेदवार बन्नेछन्।”
यसअघि १६ मंसिरमा कीर्तिपुर नगरपालिकामा सम्पन्न मेयरको उपनिर्वाचनमा साम्पाङले स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)लाई समर्थन गरेका थिए। सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी हुँदा महर्जन चौथो स्थानमा सीमित भएका थिए।
साम्पाङको यो घोषणाले आगामी निर्वाचनमा स्वतन्त्र र वैकल्पिक राजनीतिक धारणालाई थप सशक्त बनाउने संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस