२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भिजिट भिसा प्रकारणमा संलग्नता आरोप : सहसचिव भट्टराईको बयान लिन थाल्यो अख्तियार

मुछिएका गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने प्रक्रिया थालेको छ।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ९०
  • काठमाडौं, जेठ २० - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा दुरुपयोग प्रकरणमा मुछिएका गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने प्रक्रिया थालेको छ।

    अख्तियार स्रोतका अनुसार, गत आइतबारदेखि भट्टराईलाई आयोगमा उपस्थित गराएर प्रारम्भिक अनौपचारिक सोधपुछ गरिएको थियो भने अहिले औपचारिक रुपमा बयान लिन थालिएको हो।

    “उहाँलाई दुई दिनदेखि आयोगमा उपस्थित गराएर सोधपुछ भइरहेको छ,” अख्तियार स्रोतले भन्यो, “यसबीचमा उहाँसँग सम्बन्धित केही प्रमाणहरू पनि संकलन भइसकेका छन्, र सोही आधारमा थप बयान लिइँदैछ।”

    यसअघि भट्टराईलाई जेठ १८ गते आयोगमा उपस्थित हुने शर्तमा नियन्त्रणमुक्त गरिएको थियो। उनी यही जेठ ७ गते पक्राउ परेका थिए र हाजिरी जमानीमा रिहा भएका थिए।

    अख्तियारको प्रारम्भिक अनुसन्धान अनुसार अध्यागमन कार्यालयका केही कर्मचारीहरूले भिजिट भिसाको नाममा मानव तस्करीमा संलग्न भएको देखिएको छ।

    नेपाली महिला कामदारलाई जोखिमयुक्त मुलुकहरूमा लैजान भिजिट भिसाको प्रयोग गरी अवैध असुली भइरहेको भन्ने सूचना समेत अख्तियारमा पुगेको छ।

    भट्टराईलाई नियमितरूपमा अख्तियारमा उपस्थित हुनुपर्ने भएकोले उनी एक दिन मात्र गृहमन्त्रालयमा हाजिर भएर त्यसयता बिदामा बसेका छन्। उनलाई कार्यालयले दिएको सरकारी फोन र व्यक्तिगत मोबाइल दुवै अहिले अख्तियारको नियन्त्रणमा रहेको स्रोतले जानकारी दिएको छ।

    अख्तियारले भिजिट भिसा दुरुपयोगमा संलग्न अन्य कर्मचारी तथा सम्बन्धित निकायको पनि अनुसन्धान अघि बढाएको छ।