काठमाडौं, जेठ २६ - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ नामक तीन महिने विशेष अभियान सुरु गरेको छ।
यो अभियान जेठ २५ गतेदेखि सुरु भई आगामी भदौ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ। अभियानको उद्देश्य देशभरका आधारभूत तहभन्दा माथिका शिक्षण संस्थानहरूमा संगठन निर्माण र सदस्यता वितरण गर्नु रहेको छ।
अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउन अनेरास्ववियू (क्रान्तिकारी) ले आफ्ना नौ जना उपाध्यक्षहरूलाई विभिन्न प्रदेशको इन्चार्जको रूपमा तोकेको छ। अभियान अन्तर्गत नयाँ सदस्यता वितरण र नवीकरणमार्फत पाँच लाख सदस्य बनाउने लक्ष्य लिइएको प्रचार विभाग प्रमुख समेत रहेका उपाध्यक्ष मदन ढकालले जानकारी दिए।
ढकालका अनुसार अभियानको क्रममा ‘एक एकाइ, एक प्रशिक्षण’, ‘जनपरिचालन’, ‘प्रत्येक सदस्य सङ्गठित सदस्य’ र ‘हाम्रो विश्वविद्यालय, राम्रो विश्वविद्यालय’ जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
सात भूगोल, उपत्यका र विश्वविद्यालय गरी जम्मा नौ प्रदेशमा अभियान सञ्चालन गरिनेछ। जसअनुसार कोशी प्रदेशमा अभिमन्यू यादव, मधेसमा ममता अधिकारी, बागमतीमा मदन ढकाल, गण्डकीमा कृष्ण सुनार, लुम्बिनीमा विराज थापा, कर्णालीमा अटल आचार्य, सुदूरपश्चिममा उमेश कँडेल, उपत्यका विशेष प्रदेशमा दीपा जैशी र विश्वविद्यालय प्रदेशमा सन्दीप पुनलाई ‘कमाण्डर’ तोकिएको छ।
केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले नै यस तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको अनेरास्ववियू (क्रान्तिकारी) ले जनाएको छ।
प्रतिक्रिया दिनुहोस