काठमाडौं, असार २० – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) भित्र गहिरो संकट देखिएको दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित विद्यार्थी जिल्ला कमिटीको पाँचौं जिल्ला अधिवेशनमा बोल्दै उनले एमालेभित्र व्यक्तिवाद, अन्तरविरोध र अनुचित प्रवृत्तिहरू तीव्र रूपमा बढ्दै गएको बताए।
“एमाले अब मूल कम्युनिस्ट पार्टी भनेर चिनिने अवस्थामा छैन। संकटले गाँजिएको छ, त्यसको भविष्य के हुन्छ भन्नै गाह्रो छ,” नेपालले टिप्पणी गरे।
उनका अनुसार एमालेभित्र कुचिन्तन, कुभलो सोच र अनुचित गतिविधिहरू बढ्दै गएका छन्। उनले यस्ता प्रवृत्तिहरूको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए।
“अनुचित कार्य गर्ने, व्यक्तिवादी सोच राख्ने, दक्षिणपन्थी धारणाको शिकार भएका जो–कोहीलाई परास्त गर्नु आजको आवश्यकता हो,” अध्यक्ष नेपालले जोड दिए।
त्यसैगरी, उनले वर्तमान सरकारमाथि पनि कडा आलोचना गरे। “देशको राजनीतिक अवस्था राम्रो छैन, सरकार मुलुकलाई ठीकसँग हाँक्न असफल भएको छ,” उनले भने।
उनले वर्तमान सरकारले न त सही नीति अवलम्बन गर्न सकेको न त जनताको विश्वास जित्न सकेको दाबी गरे। “यस्तो सरकारलाई हामीले साथ दिन सक्दैनौं। यसको पतन अवश्यंभावी छ,” नेपालले प्रष्ट पारे।
उनले पार्टीले देशव्यापी अधिवेशनको अभियान तीव्र बनाएको जनाउँदै अब केही प्रदेशहरूमा मात्र बाँकी रहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस