उत्तराखण्ड, असार १ – भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा सोमबार बिहान भएको हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँच जनाको ज्यान गएको छ।
दैनिक भाष्करका अनुसार दुर्घटनामा एक बालकको पनि मृत्यु भएको छ। मृत्यु हुनेहरू सबै केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री रहेको जनाइएको छ।
दुर्घटनामा परेको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो। यात्रुहरू उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका रहेको नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ।
मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार घटनास्थलमा खोज तथा उद्धार टोली खटाइएको छ। प्रारम्भिक जानकारीअनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ।
भारतीय मिडियाहरूका अनुसार केदारनाथ मन्दिरबाट फर्किंदै गर्दा गौरीकुण्डतर्फ जाँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। अधिकारीहरूले विस्तृत विवरण संकलनको प्रक्रिया जारी रहेको जनाएका छन्।
प्रतिक्रिया दिनुहोस