काठमाडौँ, असार १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको बजेट छलफल बहिष्कार गरेको छ। सभामुख देवराज घिमिरेले संसद् कार्यसूची अघि बढाएपछि राप्रपाका सांसदहरूले बैठक छाडेर बहिष्कार गरेका हुन्।
प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार नियमावली अनुसार संसद् नचलेकाले बहिष्कार गरिएको हो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि वेल घेराउ गरी विरोध जनाइरहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आसनमै उभिएर विरोध गरेका थिए।
बहिष्कारपछि सभामुखले आकस्मिक समय चलाउँदै संसद्को कार्य अगाडि बढाइरहेका छन्। अर्थमन्त्री पौडेलले आफ्नो अभिव्यक्ति राख्दा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सभामुखलाई अव्यवस्थाप्रति ध्यानाकर्षण गराएका थिए।
यता, बागमती प्रदेश सरकारको बजेट समयमै प्रस्तुत नहुने भएको छ। सत्ता साझेदार दलहरूबीच बजेट रकमको विवादले बैठक स्थानान्तरण हुन पुग्यो। मन्त्रिपरिषद् बैठक साढे ५ बजे बोलाइएको छ र बजेट पास भएपछि मात्र प्रदेशसभा बैठक बस्ने तयारी छ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच बजेट ६८ अर्ब रुपैयाँभन्दा बढी नबढाउने सहमति भएपनि मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्ब रुपैयाँसम्म बजेट बढाएको आरोप लागेको छ। यसले सरकारभित्र तनाव उत्पन्न गरेको छ।
प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार, बैठक साढे ६ बजेपछि मात्र बस्ने सम्भावना रहेको र स्थानान्तरणको सूचना निकाल्ने तयारी भइरहेको छ।
भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले मन्त्रिपरिषद् बैठकपछि मात्र प्रदेशसभा बैठक बस्ने जानकारी दिएका छन्। बजेट पास नभए बैठकमा बजेट प्रस्तुत गर्न अन्यौलता देखिएको छ।
प्रतिक्रिया दिनुहोस