२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डा. केशव श्रेष्ठको भावुक स्टाटस : ‘अब म सकिँदैछु, मलाई माफ गर्नु’

श्रेष्ठले एक भावुक सामाजिक सञ्जाल स्टाटस लेख्दै आत्महत्या प्रयासको संकेत दिएका छन्।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या १२२
  • रामेछाप, असार २ - रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसू) डा. केशव श्रेष्ठले एक भावुक सामाजिक सञ्जाल स्टाटस लेख्दै आत्महत्या प्रयासको संकेत दिएका छन्।

    उनले आफूमाथि भएको अन्याय, अपमान, र मानसिक दबाबका कारण जीवनबाट नै हार मान्न बाध्य भएको उल्लेख गरेका छन्।

    श्रेष्ठले लेखेको लामो स्टाटसमा आफूमाथि विभिन्न षड्यन्त्रपूर्वक झूठा आरोप लगाएर सरुवा गराइएको, स्वास्थ्य मन्त्रालय र उच्च अधिकारीहरूले आफ्नो पक्षमा कुनै सुनुवाइ नगरेको, र अस्पतालमा गरिएका सुधारात्मक कामहरूलाई पनि प्रतिशोधको दृष्टिले हेरेर आफ्नो बद्नाम गरिने प्रयास भएको उल्लेख छ।

    उनले लेखेका छन्, “म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागाभाग हुन थाल्यो। तर, मैले व्यवस्थापनमा सुधार ल्याउने प्रयास गरे। अस्पताललाई उत्कृष्ट बनाउने सपना बोकेर दिनरात खटिए।”

    तर, आफूमाथि केदार कार्कीको दबाबमा गरिएको बदमासीको आरोप लगाउँदै उनले भनेका छन्, “केदार कार्कीले मागेको पैसा नदिदा, आफन्तलाई जागिर नलगाउँदा र स्पष्टीकरण सोध्दा मलाई झूठा आरोपमा फसाइयो। अस्पतालको अधक्ष्यको अगाडि धम्की दिइयो, हात हाल्ने अवस्था बनाइयो। त्यो पनि बिहानको ‘मर्निङ कन्फरेन्स’मै।”

    डा. श्रेष्ठले आफूलाई दुर्गम सेवा, उत्कृष्ट काम र व्यवस्थापनका बाबजुद सम्मानको साटो अपमान र पीडा मात्र दिइएको गुनासो गरेका छन्। उनले लेखेका छन्, “सिस्टममा काम गर्नेहरूलाई कारबाही र सरुवा, भ्रष्टाचार गर्नेहरूलाई समर्थन ! यही हो हाम्रो स्वास्थ्य प्रणालीको यथार्थ।”

    अस्पतालमा इमानदारीपूर्वक काम गरेबापत पुरस्कार पाउनु पर्ने समयमा सरुवा र मानसिक यातनाको सामना गर्नुपरेको उनले बताएका छन्। उनले मन्त्रालयले समेत संवेदनशील व्यवहार नगरेको, आफूलाई हेटौंडा पठाएर गाडी खोसेर अपमानित पारिएको उल्लेख गर्दै, “अब म सहन सक्दिन, जिन्दगीसँग हार खाएँ,” भनेका छन्।

    उनले स्टाटसको अन्त्यमा आमालाई, श्रीमती भावना, छोरी, परिवारजन, र आफूमाथि विश्वास गर्ने सबैलाई माफ गरिदिन आग्रह गरेका छन्।

    स्वास्थ्य मन्त्रालय, प्रहरी प्रशासन, र सम्बन्धित निकायले यस घटनालाई गम्भीरतापूर्वक लिएर तत्काल अनुसन्धान र हस्तक्षेप गर्नुपर्ने अवस्था सिर्जना भएको छ।