काठमाडौँ, असार ४ – खानेपानी मन्त्रालयले सार्वजनिक गरेको नयाँ बजेटमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्दै आएको प्रमुख मागसमेत समेटिएको छ। धरानमा कोशी नदीको पानी ल्याउने योजनाका लागि संघीय सरकारमार्फत ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो।
मेयर साम्पाङले केही महिना अघि रित्तो गाग्री बोकेर सिंहदरबारमा धाउँदा सार्वजनिक रूपमा उठाएको माग अन्ततः मन्त्रालयको वार्षिक बजेटमा समावेश भएको हो। उनले सो क्रममा मन्त्री र उच्च अधिकारीहरूसँग भेट गरी धरानको खानेपानी समस्याको समाधानका लागि कोशीको पानी ल्याउन संघीय बजेट आवश्यक रहेको बताएका थिए।
खानेपानी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कुल १० अर्ब ६६ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। यो बजेटमार्फत ५०० भन्दा बढी आयोजनाहरू सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
बजेट विवरण अनुसार, काठमाडौँ जिल्लाले सबैभन्दा धेरै बजेट पाएको छ। काठमाडौँका ५९ वटा आयोजनाका लागि १ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, झापाले ११ आयोजना सञ्चालन गर्न ५५ करोड १४ लाख, चितवनले ४६ आयोजना सञ्चालन गर्न ४६ लाख, रुपन्देहीले ६ आयोजना गर्न ३७ करोड २३ लाख र मोरङले १० आयोजनाका लागि ३५ करोड ७३ लाख रुपैयाँ पाएको छ।
संघीय बजेटबाट सबैभन्दा कम बजेट रसुवा जिल्लाले पाएको छ, जसका लागि जम्मा १ करोड ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, मुस्ताङ, मनाङ, रुकुम (पश्चिम), कालीकोट, सल्यान र दार्चुला जिल्लाले औसत ३ करोड हाराहारीमा बजेट पाएका छन्।
खानेपानीमन्त्री प्रदीप यादवको गृह जिल्ला पर्साका लागि भने ५ वटा आयोजना अन्तर्गत ११ करोड ५४ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ। यो बजेटको हिसाबले जिल्लाहरूको सूचीमा ४२औँ स्थानमा पर्छ।
संघीय कार्यक्रम अन्तर्गत अधिकांश बजेट सुगम र ठूला जिल्लाहरूमा केन्द्रित भएको देखिन्छ भने विकट तथा कर्णाली क्षेत्रका जिल्लाहरूले अपेक्षाकृत कम बजेट पाएका छन्।
धरानवासीका लागि भने यो बजेट हर्षको विषय बनेको छ, किनभने लामो समयदेखि उठाउँदै आएको कोशीको पानी ल्याउने सपना अब कार्यान्वयनको चरणमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस