२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपा–राप्रपा भिजिट भिसा प्रकरणमा एकै स्वर, संसद् बैठक बहिष्कार

शुक्रबारको प्रतिनिधिसभा बैठकमा रास्वपाले पनि बैठक बहिष्कार गर्दै राप्रपासँग विरोधको शैली मिलाएको हो।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या २१७
  • काठमाडौं, असार ६ - भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा लगातार विरोध गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारदेखि एउटै रणनीति अख्तियार गरेका छन्।

    यसअघि राप्रपाका सांसदहरूले संसद्को कामकारबाही बहिष्कार गर्दै विरोध जनाइरहेका थिए भने रास्वपाका सांसदहरू वेल घेराउ र नाराबाजीमा सीमित थिए। तर, शुक्रबारको प्रतिनिधिसभा बैठकमा रास्वपाले पनि बैठक बहिष्कार गर्दै राप्रपासँग विरोधको शैली मिलाएको हो।

    संसद्मा शुक्रबारको बैठक सुरु हुनुअघि दुवै दलका सांसदहरूले उठेर विरोध जनाए। उनीहरूले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म बैठक बहिष्कार जारी राख्ने चेतावनी दिएका छन्।

    यसअघि बिहीबार राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै एक दलको मुद्दा नभई सबै दलको साझा समस्या भएको बताउँदै सबैलाई एकजुट हुन अपिल गरेका थिए।

    "यो कुनै व्यक्तिको मात्रै होइन, सम्पूर्ण देशको समस्या हो। मानव बेचबिखनजस्तो गम्भीर विषयमा हामी सबै दल एकजुट हुनुपर्छ," शाहीले भनेका थिए।

    दुवै दलले संसद्मा संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान दोहोर्याउँदै सरकारको ध्यानाकर्षण गराइरहेका छन्।