२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय सार्ने निर्णय, मासिक साढे ९ लाख भाडा विवादमा

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरू सहभागी थिए।



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ८५
  • काठमाडौं, असार ६ – संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय हाल हाँडीगाउँस्थित एक निजी घरमा रहेको छ, जहाँ आयोगले मासिक साढे ९ लाख रुपैयाँभन्दा बढी भाडा तिर्दै आएको खुलासा भएको छ।

    शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन राजनीतिक दलहरूको बैठकमा आयोगको कार्यालय स्थानान्तरण गर्ने सहमति भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरू सहभागी थिए।

    बैठकमा प्रधानमन्त्री ओलीका संक्रमणकालीन न्याय तथा मानवअधिकार सल्लाहकार अग्नी खरेलले वर्तमान कार्यालय स्थान पीडितमैत्री नभएको र अत्यधिक भाडा खर्च गरिरहेको उल्लेख गर्दै कार्यालय सार्नुपर्ने सुझाव दिएका थिए। प्रधानमन्त्री ओलीले ‘त्यति धेरै भाडा?’ भन्दै चकित प्रतिक्रिया दिएका थिए।

    खरेलका अनुसार, शीर्ष नेताहरू कार्यालय सार्ने विषयमा सहमत भएका छन्। उनले भने, "अब द्वन्दपीडितलाई सजिलो हुने गरी आयोगको कार्यालय स्थानान्तरण गरिनेछ।"

    बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुबै आयोगमा आवश्यक कर्मचारी व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

    नेताहरूबीच द्वन्दपीडितको उपचार तथा आयोगप्रति विश्वास बढाउने गरी काम अगाडि बढाउनुपर्ने विषयमा सहमति भएको खरेलले जानकारी दिए।

    बैठकमा एमालेबाट अग्नी खरेल, कांग्रेसबाट सभापति देउवा र गृहमन्त्री रमेश लेखक तथा माओवादी केन्द्रबाट अध्यक्ष दाहाल, उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी थिए।