वासिङ्टन, असार ९ — अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि उत्पन्न संकटको सन्दर्भमा चीनलाई इरानसँग समन्वय गर्न आग्रह गरेका छन्।
उनले चीनसँग अनुरोध गर्दै भनेका छन् कि होर्मुज जलमार्ग बन्द नहोस् भन्ने सुनिश्चित गर्न चीनले भूमिका खेल्नुपर्छ, किनभने यो मार्ग चीन आफैंका लागि पनि महत्वपूर्ण इन्धन आपूर्ति मार्ग हो।
रुबियोले फक्स न्यूजसँगको कुराकानीमा भने, “इराक, कतार र इरानबाट निर्यात हुने तेल स्ट्रेट अफ होर्मुज भएर जान्छ, र यो चीनका लागि पनि इन्धन आपूर्तिको प्रमुख मार्ग हो। त्यसैले चीन सरकारले यो विषयमा इरानसँग वार्ता गर्नुपर्छ।”
विश्लेषकहरूले भनेका छन् कि अमेरिकाले आइतबार बिहान इरानी आणविक स्थलमा गरेको आक्रमणको प्रतिशोधस्वरूप इरानले होर्मुज जलमार्ग बन्द गर्न सक्ने संकेत देखिएको छ। रुबियोले भने, “यदि इरानले होर्मुज स्ट्रेट बन्द गर्ने निर्णय लियो भने त्यो उनीहरूको ठूलो गल्ती हुनेछ। यसबाट इरान आफैं गम्भीर आर्थिक संकटमा पर्न सक्छ।”
उनले थपे, “यसको असर केवल अमेरिकामै सीमित रहने छैन, यो अन्य देशहरूको अर्थतन्त्रमा झनै खराब प्रभाव पार्न सक्छ। यसले विश्व अर्थतन्त्रलाई थप सङ्कटमा धकेल्नेछ।”
यसैबीच, इरानले अमेरिकी सेनाले प्रयोग गर्दै आएका अखडाहरूलाई लक्षित गर्ने चेतावनी दिएको छ। इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकारले ती अखडाहरूलाई “इरानी सशस्त्र बलको वैध निशाना” भएको बताएका छन्।
चीनले अमेरिकी आक्रमणको आलोचना गर्दै मध्यपूर्वमा तनाव चुलिएको जनाएको छ। साथै, चीनले रुस र अरब राष्ट्रहरूको समूहसँग मिलेर यस घटनाको निन्दा गरेको छ।
अहिलेसम्म तेहरानले यो आक्रमणको प्रत्यक्ष प्रतिक्रिया दिने वा स्थिति थप बिगार्ने भन्ने विषयमा औपचारिक निर्णय भने सार्वजनिक गरेको छैन। तर परिस्थिति अत्यन्त संवेदनशील बनेको छ।
प्रतिक्रिया दिनुहोस