काठमाडौं, असार १६ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक रोकेर राजनीतिक स्वार्थका लागि खेल नखेल्न आग्रह गरेकी छन्।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले शिक्षा विधेयकलाई समितिमा अड्काएर शिक्षकहरुलाई दलीय स्वार्थ र भोट बैंकको माध्यम बनाउन खोजिएको आरोप लगाइन्।
श्रेष्ठले संसदमा विधेयक पेस गर्न रोकिनु दुर्भाग्यपूर्ण भएको बताउँदै यसलाई समितिको कमजोरीको रुपमा देखाउने प्रयास भइरहेको आरोप पनि लगाइन्। "सांसदले कानून बनाउने हो, इन्ट्रेस्ट ग्रुपले होइन," भन्दै उनले स्वार्थ समूह सक्रिय भएको संकेत गरिन्।
उनले नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको शिक्षक पदपूर्तिको छलफल निष्कर्षविहीन भएकोप्रति पनि आक्रोश व्यक्त गरिन्। श्रेष्ठको भनाइमा, शिक्षक महासंघले शिक्षकका मूल मुद्दा नै कमजोर बनाएको छ। उनले उदाहरण दिँदै भनिन्, "इसीडी कर्मचारीको कुरा महासंघले छाडेको छ, कार्यसम्पन्न मुल्यांकन ९० प्रतिशत राखिएको छ भने निजामती सेवामा यो ९५ प्रतिशत छ।"
सहमति भइसकेको विषयमा फेरि उल्टो निर्णय लिन खोजिएकोप्रति असन्तोष जनाउँदै उनले भनिन्, "जे सहमति भएको छ त्यो फुल हाउसमा लैजानुपर्छ।"
समितिलाई दोष दिने प्रपञ्च बन्द गर्नुपर्ने भन्दै श्रेष्ठले शिक्षा विधेयक होल्ड गरेर ‘पोलिटिकल गेम’ नखेल्न चेतावनी दिइन्।
प्रतिक्रिया दिनुहोस