२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जनकपुरमा ज्वाइँद्वारा ससुराको हत्या, विवाद जग्गासम्बन्धी भएको खुलासा

कुवारामपुर निवासी ६५ वर्षीय बासुदेवप्रसाद विमलको आफ्नै ज्वाइँको हातबाट हत्या भएको हो।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १६३
  • जनकपुरधाम, असार १८ - जनकपुरधाममा एक ज्वाइँले ससुरामाथि चक्कु प्रहार गरी हत्या गरेका छन्।

    जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुर निवासी ६५ वर्षीय बासुदेवप्रसाद विमलको आफ्नै ज्वाइँको हातबाट हत्या भएको हो।

    प्रहरीका अनुसार जनकपुरधाम–२१, कुर्था निवासी ४८ वर्षीय बेचन महासेठले आज बिहान करिब पौने १० बजे विमललाई उनीकै घरमा चक्कु प्रहार गरेका थिए।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले बताएअनुसार जग्गासम्बन्धी घरायसी विवादकै कारण झगडा भएको थियो। विवाद चर्किएपछि ज्वाइँ बेचनले ससुराको पेटमा चक्कु हानेका थिए।

    घाइते विमललाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुर लगिएको थियो। तर साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

    घटनापछि आरोपित ज्वाइँ फरार रहेका छन्। प्रहरीले उनको खोजी गर्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    मृतक विमल जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका भएको पुष्टि गरिएको छ।यस घटना पछि स्थानीयमा त्रास फैलिएको छ।