६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सांसद सोबिता गौतमको स्पष्टिकरण : 'मैले प्रधानमन्त्रीसँग गएकाहरू नफर्किएको भनेकी होइन'

उनले प्रधानमन्त्री गएको कार्यक्रममा सहभागी हुने बहानामा गएकाहरू नफर्किएको भन्ने समाचारहरू आइरहेको मात्र भनेको स्पष्ट पारिन्।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १८९
  • काठमाडौँ, असार २५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफूले प्रतिनिधिसभामा दिएको धारणा गलत रूपमा व्याख्या गरिएको भन्दै स्पष्टिकरण दिएकी छन्। बुधबारको बैठकमा धारणा राख्दै उनले मंगलबार बोलेको अभिव्यक्तिबारे उत्पन्न विवादप्रति प्रतिक्रिया दिएकी हुन्।

    गौतमले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेर आफूले कहिल्यै नभनेको दाबी गरिन्। उनले प्रधानमन्त्री गएको कार्यक्रममा सहभागी हुने बहानामा गएकाहरू नफर्किएको भन्ने समाचारहरू आइरहेको मात्र भनेको स्पष्ट पारिन्।

    उनले भनिन्, “मैले कहीँ पनि प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन। राम्रोसँग कान खोलेर सुन्नुहोस्। मैले भनेको वाक्य यति हो — स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा केही मानिसहरू कार्यक्रमको बहाना बनाएर गएका भन्ने समाचारहरू आइरहेका छन्।”

    गौतमले आफ्नो अभिव्यक्तिबाट केही सांसदहरू र प्रधानमन्त्रीको सचिवालय आक्रोशित भएकोप्रति पनि प्रतिक्रिया दिइन्। “हामी सदन बहिस्कार गरेर बाहिरिएपछि मलाई थाहा भयो कि मेरो भनाइ हटाउने माग गरिएको रहेछ, चुनौती आएको रहेछ,” उनले भनिन्।

    उनले थप भनिन्, “सांसद महोदयहरूले 'बतासे केटाकेटी' भन्ने जस्ता अभिव्यक्ति समेत प्रयोग गर्नु भयो। तर म जिम्मेवार पार्टीको जिम्मेवार सांसद भएकाले आफ्ना भनाइ पुनः स्पष्ट पार्न चाहन्छु।”

    गौतमले आफ्नो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु गलत भएको उल्लेख गर्दै भनिन्, “मेरो भनाइ रेकर्डबाट हटाउने कुरा नेपाली भाषा बुझाइमा समस्या भएकाहरूका कारण हो भन्ने लाग्छ। कसैले नबुझेको कुरा अपव्याख्या गर्छ भने त्यो मेरो समस्या होइन।”