काठमाडौं, असार २७ – मलेसियामा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गर्दै उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार दिने भएको छ।
क्यानका अनुसार नेपाली टोलीका सबै खेलाडी र अफिसियलहरूलाई हौसला स्वरूप जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। क्यानका प्रवक्ता छुम्बी लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा यो निर्णय सार्वजनिक गरिएको हो।
विज्ञप्तिमा उल्लेख गरिएको छ, "मलेसियामा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा पहिलो स्थान हासिल गरी देशको नाम उज्यालो बनाएका खेलाडी तथा अफिसियलहरूलाई जनही पचास हजार रुपैयाँको नगद पुरस्कार दिने निर्णय भएको जानकारी गराउन चाहन्छौं।"
प्रतियोगिता जुन २० देखि जुलाई ५ सम्म मलेसियामा आयोजना गरिएको थियो। नेपालसहित भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा सिंगापुरलाई हराएर उपाधि उचालेको थियो।
यो उपलब्धिले नेपाली युवा क्रिकेटको भविष्य उज्ज्वल रहेको संकेत गरेको भन्दै क्यानले खेलाडीहरूको मनोबल बढाउन यो निर्णय लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस