काठमाडौँ, साउन २३ – भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले साउदी अरेबियामाथि रोमाञ्चक जित दर्ता गरेको छ।
शुक्रबार चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले अन्तिम मिनेटमा गरेको एक मात्र गोलमार्फत १–० को कठिन जित हात पारेको हो।
खेलको ९०औं मिनेटमा मिना देउवाले दिएको पासमा शुक्रिया मियाँले ट्याप–इन गोल गर्दै नेपालका लागि निर्णायक गोल गरिन्।
खेलभर दुवै टोलीबीच प्रतिस्पर्धा भए पनि गोलको अवसर सदुपयोग गर्ने पक्षमा नेपाल अन्त्यमा सफल भयो। साउदी अरेबियाले पनि केही मौका बनाएको थियो तर फिनिशिङमा कमजोर देखियो।
नेपालले पहिलो हाफको ३७औं मिनेटमा पेनाल्टी पाएको थियो, तर मिना देउवाको प्रहार गोलपोस्टको बारमा लागेर फर्किएको थियो, जसले अग्रता लिने मौका गुमायो।
यसअघि नेपालले पहिलो खेलमा आयोजक भुटानसँग १–१ को बराबरी खेलेको थियो। यता साउदी अरेबियाले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को अपमानजनक हार बेहोरेको थियो।
नेपालले अब आइतबार समूहको बलियो टोली उत्तर कोरियासँग खेल्नेछ। समूह विजेता टोलीहरू सिधै एएफसी यू–२० महिला एसियन कपमा छनोट हुने छन् भने तीन उत्कृष्ट उपविजेता टोलीलाई समेत प्रतियोगितामा स्थान दिइनेछ।
पहिलो खेल बराबरी भएपछि नेपालका लागि अबको खेल निकै निर्णायक बन्ने देखिएको छ। उत्तर कोरियासँगको प्रदर्शन नै नेपालको आगामी यात्रा तय गर्नेछ।
प्रतिक्रिया दिनुहोस