२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राप्रपाको माग : सबै ठूला भ्रष्टाचार प्रकरण पुनः छानबिन होस्



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ३६४
  • काठमाडौं, साउन २ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालसम्मका सबै ठूला तथा चर्चित भ्रष्टाचार प्रकरणहरूको निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शुक्रबार उजुरी बुझाएको छ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको टोलीले आयोगमा बुझाएको उजुरीमा राजनीतिक नेतृत्व तहसम्म नपुगेका ठूला घोटालाहरूको छानबिन माग गरिएको छ। उजुरीमा उल्लेख गरिएको छ, "केंद्रदेखि स्थानीय तहसम्म भ्रष्टाचारका घटनाहरूमा प्रतिस्पर्धा नै चलेको देखिन्छ, जुन अत्यन्तै गम्भीर र चिन्ताजनक हो।"

    राप्रपाले ट्रान्सपरेन्सी इन्टरनेसनलका प्रतिवेदनहरूलाई उद्धृत गर्दै नेपाल भ्रष्टाचारमा डुबेको मुलुकको रूपमा सूचीकृत हुनु सम्पूर्ण नेपालीका लागि लज्जास्पद भएको टिप्पणी गरेको छ।

    ललिता निवास प्रकरण, वाइडबडी विमान खरिद, सुडान घोटाला, ओम्नी काण्ड, एनसेल कर प्रकरण, क्यान्टोन्मेन्ट जग्गा काण्डजस्ता ठूला विषयहरूमा राजनीतिक नेतृत्व अनुसन्धानको दायराबाट बाहिर रहेको भन्दै लिङ्देनले आयोगको निष्पक्षता र कार्यक्षमतामाथि नै प्रश्न उठाएका छन्।

    त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी, रड-सिमेन्ट लगायतका सामग्रीमा मूल्यवृद्धि, भिजिट भिसा दुरुपयोग, मन्त्रीहरूको अडियो काण्डजस्ता विषयहरू नेपाल र नेपाली जनतालाई अन्तर्राष्ट्रियस्तरमै बदनाम बनाउने घटनाहरू भएको राप्रपाको भनाइ छ।

    उजुरीमा पोखरा तथा भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, कृषि अनुदानको दुरुपयोग, चाइनिज विमान खरिद जस्ता काण्डमा अनुसन्धान र कारबाही ढिलासुस्तीपूर्ण रहेको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ।

    राप्रपाले अख्तियारलाई कानुन बमोजिम निष्पक्ष र निर्भीक ढंगले काम गर्न आग्रह गर्दै, अब ढिलाइ नगरिकन ठूला भ्रष्टाचार प्रकरणको गहिरो छानबिन सुरु गर्नुपर्ने माग गरेको छ।