२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अविरल वर्षाले राजमार्ग ठप्प, यात्रु र ढुवानी सेवा प्रभावित



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १८४
  • काठमाडौं, साउन ६ – देशभर भइरहेको लगातारको झरीका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोले सडक नेटवर्कमा गम्भीर असर पु-याएको छ, जसले गर्दा यात्रुहरू बाटोमै रोकिएका छन् भने ढुवानी सेवा अस्तव्यस्त बनेको छ।

    नेपाल प्रहरीले सोमबार बिहान ९ बजेसम्म दिएको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न मुख्य सडक खण्डहरूमा सवारी सञ्चालन ठप्प भएको हो।

    संखुवासभामा वर्षासँगै आएको बाढीले कोशी राजमार्ग प्रभावित बनाएको छ भने पाँचथरमा तमोर–कोरिडोर र मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। यस्तै, रसुवाको पासाङ ल्हामु राजमार्ग पहिरोका कारण पूर्णरूपमा बन्द छ।

    रुकुम पश्चिममा बाढीले जाजरकोट–डोल्पा भेरी करिडोर अवरुद्ध बनाएको छ। काठमाडौं–नुवाकोट सडकखण्डमा भने एकतर्फी मात्र सवारी चलिरहेको छ। त्यस्तै, बागलुङ र नवलपुरको कालिगण्डकी करिडोर तथा रोल्पाको शहीद राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएका छन्।

    राजमार्ग बन्द हुँदा यात्रुहरू बाटोमै फसेका छन्। केही स्थानमा यात्रुहरू दिनौंपछि पनि गन्तव्यमा पुग्न सकेका छैनन्। अत्यावश्यक वस्तुहरू ढुवानीमा समेत समस्या उत्पन्न भएको छ।

    प्रहरीले आम नागरिकलाई यात्रा गर्नु अघि सडकको अवस्था बुझ्न र जोखिम नलिन अनुरोध गरेको छ। सडक खुलाउने प्रयास भने तीव्र गतिमा भइरहेको जनाइएको छ।