२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अमेरिकामा बोइङ विमानमा आगलागी, १७३ यात्रु सकुशल उद्दार



  • एजेन्सीको सहयोगमा
  • १ बर्ष अघि
  • पाठक संख्या ३०९
  • अमेरिका, साउन ११ - अमेरिकाको कोलोराडो राज्यस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक गम्भीर विमान दुर्घटना नजिकबाट टर्यो।

    मियामीका लागि उड्न लागिरहेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानले टेकअफका क्रममा ल्यान्डिङ गियरमा समस्या देखिएपछि आकस्मिक ब्रेक लगाउँदा विमानको पछाडिको भागमा आगलागी भएको थियो।

    स्थानीय समय अनुसार दिउँसो २:४५ बजे (नेपाली समयानुसार राति २:३० बजे) भएको उक्त घटनामा विमानमा सवार १७३ यात्रु र ६ जना चालकदलका सदस्यलाई आपतकालीन स्लाइडमार्फत सुरक्षितरूपमा बाहिर निकालिएको थियो।

    घटनामा ६ जना सामान्य घाइते भएका छन् भने एकजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

    अमेरिकन एयरलाइन्सले विमानको टायरमा खराबी देखिएको पुष्टि गर्दै सो विमानलाई तत्काल सेवा बाहिर राखिएको जानकारी दिएको छ।

    मियामी जानुपर्ने यात्रुहरूका लागि वैकल्पिक विमानको व्यवस्था गरिएको छ भने आगो नियन्त्रणमा लिइएको अधिकारीहरूले जनाएका छन्।

    यो घटनाले डेनभर विमानस्थलमा दिउँसो २ बजेदेखि ३ बजेसम्मका ८७ उडानहरू प्रभावित बनाएको थियो।

    यसअघि पनि जुन १२ मा भारतको अहमदाबादमा दुर्घटनामा परेको एयर इन्डियाको बोइङ ७८७–८ विमानले गम्भीर क्षति पु-याएको थियो। सो घटनामा २७० जनाको मृत्यु भएको थियो।

    बोइङ कम्पनीका विमानहरूमा पछिल्लो समय लगातार समस्या देखिन थालेको भन्दै यात्रुहरूको सुरक्षाका विषयमा प्रश्न उठ्न थालेका छन्।