काठमाडौं, साउन १३ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले चार दलीय समाजवादी मोर्चा विघटनको प्रस्ताव राखेपछि मोर्चाभित्र बहस चर्किएको छ। मंगलबार नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको बैठकमा विप्लवले मोर्चा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै स्थगन वा विघटनको प्रस्ताव अघि सारेका थिए।
बैठकका एक सहभागी नेताका अनुसार, "विप्लवले विगतमा तय गरिएका गतिविधि प्रभावकारी रूपमा अगाडि नबढेको, नेताहरूले अपेक्षाअनुसार समय र ऊर्जा दिन नसकेको भन्दै मोर्चालाई हाललाई स्थगन गर्ने वा विघटन गर्ने प्रस्ताव गर्नुभयो।" तर, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले विप्लवको प्रस्ताव तत्काल कार्यान्वयन गर्नु उचित नहुने धारणा राखेका थिए।
विप्लवले दुई–चार महिना मोर्चालाई सक्रिय बनाएर परीक्षण गर्ने विकल्प पनि प्रस्ताव गरे। तर, अन्य नेताहरूले बरु विगतका कमजोरी सुधार गर्दै मोर्चालाई अझ सशक्त बनाउनेतर्फ जानुपर्नेमा जोड दिए।
बैठकमा नेताहरूबीच अन्ततः मोर्चालाई न स्थगन गर्ने न विघटन गर्ने निर्णयमा सहमति जुट्यो। विप्लवले संयोजक पद पनि नछोड्ने बताएका छन्।
नेकपा (एकीकृत समाजवादी)का नेता प्रमेश हमालले मोर्चाको समीक्षा गरी भावी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरिएको बताए। उनले मोर्चाको कार्यक्रम परिमार्जन गरी विचार मिल्ने नयाँ दलहरूलाई समेत आवद्ध गराउने निर्णय भएको जानकारी दिए।
मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार मोर्चाले जनअपेक्षा पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै अब गल्तीहरू निर्ममतापूर्वक सच्याउँदै सशक्त रूपमा अघि बढ्ने योजना बनाएको छ।
उनले भने, "जनता र इमानदार कार्यकर्ताको अपेक्षा अनुसार काममा सीमितता देखिएको छ। अब सुधारको बाटोमा गम्भीर छलफल भएको छ।"
यसरी समाजवादी मोर्चामा देखिएको आन्तरिक असहजता समाधानतर्फ उन्मुख भएको देखिएको छ भने मोर्चालाई थप बलियो बनाएर लैजाने रणनीतिमा नेताहरू जुटेका छन्।
प्रतिक्रिया दिनुहोस