जनकपुर, साउन १५ — जनकपुरमा खुकुरी प्रहार गरी १५ वर्षीया किशोरीको हत्या र दुई महिलालाई गम्भीर घाइते बनाउने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति सिरहाको क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ४३ वर्षीय रामबाबु साह हुन्।
घटना सोमबार राति साढे ११ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सूर्यनन्द चौधरीको घरमा भएको थियो। सो घरमा डेरा गरी बस्दै आएकी बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी अञ्जली कुमारी यादवको रामबाबुले खुकुरी प्रहार गरी हत्या गरेका थिए। उनी १५ वर्षकी थिइन्।
खुकुरी प्रहारबाट अञ्जलीकी आमा ३६ वर्षीया आशा देवी यादव र भतिजी १४ वर्षीया राधा यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। आशाको अवस्था गम्भीर रहेकाले उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने राधा उपचारपछि डिस्चार्ज भएकी छन्।
धनुषाका डीएसपी वरुणबहादुर सिंहका अनुसार फरार रहेका रामबाबुलाई बुधबार राति क्षिरेश्वरनाथ नगरपालिकाबाट पक्राउ गरिएको हो। घटनामा प्रयोग भएको खुकुरी र मोटरसाइकल समेत प्रहरीले बरामद गरी सार्वजनिक गरिसकेको छ।
प्रहरी अनुसन्धानअनुसार रामबाबु साह पहिले पनि हत्या अभियोगमा जेल परेका थिए। २०७१ चैत २ गते आफ्नै जेठी श्रीमती सरिता देवी साहको हत्या गरेको आरोपमा उनी पाँच वर्ष जेल बसेका थिए र २०७७ मा छुटेका थिए।
जेलबाट छुटेपछि उनले दोस्रो विवाह गरी गाउँमै बस्दै आएका थिए। त्यही क्रममा महेन्द्र बजारमा चिया बेच्ने आशा देवीसँग उनको चिनजान भयो। केही समयमै उनीहरूको सम्बन्ध गहिरिँदै गएपछि जनकपुरमा लुकिछिपी बस्न थालेका थिए।
आशाको श्रीमान दिनेश यादवले घटनाबारे थाहा पाएपछि गाउँमा छलफल भएको थियो। छलफलमा आशा रामबाबुसँग बस्ने सहमति भएपछि उनका श्रीमान दिनेशले तीनजना सन्तानको जिम्मा लिने सहमति जनाएका थिए।
प्रहरीका अनुसार रामबाबुले आशालाई अटो रिक्सा खरिद गरिदिएका थिए, जुन पछि आशाले आफ्ना भाइको नाममा पास गराएकी थिइन्। पछिल्लो समय रामबाबुसँग दूरी बढाउँदै गएको, फोन नउठाएको, र उनका जेठी श्रीमतीलाई म्यासेज गरेर झगडा गराउने जस्ता क्रियाकलापमा संलग्न भएको अनुसन्धानमा खुलेको छ।
घटना भएको राति रामबाबुले पटक–पटक आशालाई फोन गरेका थिए। आशाले फोन उठाइनन् र अन्त्यमा छोरी अञ्जलीलाई फोन रिसिभ गर्न लगाएकी थिइन्। त्यसपछि आशाले रामबाबुलाई अपशब्द बोल्दा रिसमा आएर रामबाबु कोठामै पुगेर खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
यस भीषण घटनाले समाजमा आपराधिक मनोवृत्तिको गम्भीरता र घरेलु सम्बन्धमा भइरहेको हिंसाको चेतावनी दिन्छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस