सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा सालको रुख ढल्दा दुई बालबालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार दिउँसो झरी परिरहेको बेला पाँचजना बालबालिका नजिकैको टहरामा ओत लाग्न बसेका थिए। सोही क्रममा वर्षाका कारण कमजोर भइसकेको सालको रुख अचानक ढल्दै टहरामाथि खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोले रहेका छन्।
घटनामा घाइते भएका १४ वर्षीया सिर्जना माया र १५ वर्षीया सन्ध्या भोलनलाई अवस्था गम्भीर भएपछि थप उपचारका लागि हेटौडा रिफर गरिएको छ।
त्यस्तै, सात वर्षीय सुशील थिङको भने स्थानीय पाँचपाण्डव पोलिक्लिनिक, झुरझुरेमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्राकृतिक विपत्तिबाट ज्यान गुमाउने बालबालिकाप्रति स्थानीयबासीले दु:ख व्यक्त गरेका छन् भने परिवारजनलाई समवेदना प्रकट गरिएको छ। सुरक्षा निकायले थप अनुसन्धान र सावधानीका उपायबारे पनि छलफल थालेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस