काठमाडौं, साउन १९ — नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई लक्षित गर्दै ती दलहरूले निरन्तर झूठो प्रचार गरेर जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै घिमिरेले पछिल्लो ७० दिनदेखि रास्वपा र राप्रपाले भिजिट भिसा विषयलाई लिएर निरन्तर संसद अवरुद्ध गर्ने, तथ्यहीन कुरा गर्ने र जनमतलाई दिग्भ्रमित पार्ने कार्य गर्दै आएको गुनासो गरे।
“रास्वपा र राप्रपा गोयवल्स शैलीमा झूट बोलेर जनतालाई भ्रमित गरिरहेका छन्। यो कार्य रोकिएन भने सम्पूर्ण सांसदहरू उनीहरूविरुद्ध उत्रिन सक्ने परिस्थिति आउन सक्छ,” घिमिरेले चेतावनी दिए।
सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउँदै उनले भने, “यो क्रम रोकिएन भने संसद्को गरिमा खतरामा पर्न सक्छ।”
प्रमुख सचेतक घिमिरेले भिजिट भिसालाई मानव तस्करीको रूपमा प्रचार गर्नु गलत भएको स्पष्ट पारे। “विदेश गएर नफर्किएका सांसदहरूको कुनै प्रमाण छैन। तर, भ्रमपूर्ण प्रचार गरेर संसदलाई प्रभावहीन बनाउने काम भइरहेको छ,” उनले आरोप लगाए।
उनको भनाइ अनुसार संसदलाई गतिशील बनाउने जिम्मेवारी सबै सांसदहरूको हो, र कुनै दलले लगातार अवरोध गर्नु लोकतान्त्रिक अभ्यासको विरुद्ध जान्छ।
घिमिरेको टिप्पणीले हाल भिजिट भिसा प्रकरणमा देखिएको राजनीतिक तनाव र दलहरूबीचको आरोप–प्रत्यारोपलाई थप चर्काएको छ।
प्रतिक्रिया दिनुहोस