काठमाडौँ, २६ साउन — राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखिएको कारागारको अनुगमन गरेको छ। रुपन्देही जिल्ला कारागार पुगेको आयोगको टोलीले लामिछानेलाई राखिएको कोठामा आधारभूत सुविधाको अभाव भएको देखेको जनाएको छ।
अनुगमनका क्रममा आयोगले सभापति लामिछानेलाई छुट्टै कोठामा राखिए पनि कोठाको झ्यालमा प्लाइउड ठोकिएको र त्यसका कारण पर्याप्त प्रकाश र हावापानी नपाएको अवस्था पत्ता लागेको छ। आयोगले कारागार प्रशासनलाई सुरक्षा कारण देखाउँदै झ्याल थुनिएको बताइए पनि प्लाइउड हटाउन निर्देशन दिएको छ।
आयोगका प्रवक्ता डा. लिली थापाका अनुसार, “हामी लामिछानेको कोठामा गएर करीब आधा घण्टा कुराकानी गर्यौं। उहाँलाई केही दिनदेखि बाहिर निस्कन पनि नदिएको देखियो।” उनले थपिन्, “प्रशासनिक संरचना साँघुरो छ र सुरक्षा कारणले केही प्रतिबन्ध लगाइएको छ।”
अधिकार आयोगले अदालतले स्थानान्तरण आदेश दिएको भएपनि त्यो कार्यान्वयन नभएको पनि भेटिएको बताएको छ। त्यस्तै, उक्त कारागारको क्षमता २५० जना भएपनि अहिले ६५० भन्दा बढी कैदीबन्दी रहेको जानकारी आयोगले पाएको छ। अन्य कैदीहरूको अवस्था पनि यसैगरी समस्या रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस