काठमाडौं, भदौ २ - हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले सक्रिय कूटनीतिक प्रयास गरिरहेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिएकी छिन्।
फेसबुकमार्फत् सार्वजनिक जानकारी दिँदै मन्त्री राणाले आफू परराष्ट्रमन्त्री नियुक्त भएयता यो विषयलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएकी छिन्। उनले भनिन्, "राष्ट्रसंघीय महासभादेखि लिएर विभिन्न अन्तर्राष्ट्रिय मञ्च, द्विपक्षीय तथा बहुपक्षीय बैठकहरूमा मैले विपिनको रिहाइका लागि लगातार आग्रह गरिरहेकी छु।"
उनका अनुसार परराष्ट्र मन्त्रालयले विपिनको शीघ्र र सुरक्षित रिहाइ सुनिश्चित गर्न सबै सम्भावित माध्यमबाट पहल गरिरहेको छ। साथै, विपिनकी आमा र बहिनीलाई इजरायल पठाउने काम पनि परराष्ट्र मन्त्रालयको परामर्शमा गरिएको हो। उनीहरूले इजरायली राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि अपिल गरिसकेका छन्।
गत असोजमा न्युयोर्कमा आयोजित राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुँदा मन्त्री राणाले जी७७ प्लस, जी२०, एलडीसी लगायत समूहहरूसँगको बैठकमा समेत विपिनको विषयमा विशेष आग्रह गरेकी थिइन्। त्यस्तै, दोहामा सम्पन्न एसिडी सम्मेलन तथा त्यसपछिका साइडलाइन भेटघाटहरूमा पनि सो विषय प्राथमिकताका साथ उठाइएको उनले बताइन्।
इजरायल र हमासबीच युद्धविरामको संकेत देखिएपछि नेपाल सरकारले संलग्न मुलुकहरूका विदेशमन्त्रीहरूसँग संवाद गर्दै र काठमाडौंस्थित तिनका कूटनीतिक प्रतिनिधिहरूसँग भेट गरी विपिनको रिहाइमा सहयोग मागिरहेको छ। मन्त्री राणाका अनुसार अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हमासमाथि बन्दीहरू रिहा गर्न दबाब दिएको पृष्ठभूमिमा नेपालले आफ्नो कूटनीतिक प्रयासलाई अझ तीव्र बनाएको हो।
सरकारले विपिनको रिहाइलाई संवेदनशील र महत्वपूर्ण विषयका रूपमा लिएर गम्भीरतापूर्वक काम गरिरहेको मन्त्री राणाको भनाइ छ।
प्रतिक्रिया दिनुहोस