काठमाडौं, भदौ २७ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई नयाँ पुस्ताले अस्वीकार गरेको स्पष्ट देखिएको भन्दै कांग्रेसलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
एक भिडियो सन्देशमार्फत उनले मत र विश्वासबीचको फरक प्रष्ट गर्दै नागरिकको भरोसा गुमाउनु पार्टीको ठूलो कमजोरी भएको बताए। ‘नयाँ पुस्ताले हामीलाई किन स्वीकार गरेन ? यसको जवाफ खोज्नु मात्र होइन, व्यवहारमै परिवर्तन गर्नुपर्छ,’ थापाले भने।
उनका अनुसार, कांग्रेसले अनुहारमा लागेको दाग ऐना पुछेर होइन, आत्मसमीक्षामार्फत मात्र हटाउन सक्छ। ‘सिंगो देशसँग माफी माग्नुपर्ने अवस्था आएको छ। यो घाउलाई हामीले निको पार्नै पर्छ,’ उनले जोड दिए।
भदौ २३ र २४ मा भएका अमानवीय घटना र आक्रमणबारे गहिरो छानबिन हुनुपर्ने थापाको माग छ। उनले सभापतिदेखि नेता–कार्यकर्तासम्म आक्रमणको शिकार भएको भन्दै, नियतवश गरिएको घटनामा कानूनी कारबाही अनिवार्य हुने बताए।
महामन्त्री थापाले पुनर्निर्माणको पहल कांग्रेसले नै गर्नुपर्ने उल्लेख गर्दै आन्दोलनकारी, पार्टी तथा राष्ट्रपति बीच निरन्तर संवाद भइरहेको जानकारी दिए। जेनजीको मागअनुसार प्रधानमन्त्री चयनका लागि पहल भइरहेको समेत उनले बताए।
‘संविधानलाई ट्र्याकभित्रै राख्न हामी दृढ छौं। एकपटक संविधान बाहिर गयो भने फर्काउन गाह्रो हुन्छ,’ उनले भने। साथै, आज साँझसम्म सरकार बन्ने विश्वास पनि व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस