काठमाडौँ, मंसिर २८ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जागिर वा रिक्त पदमा नियुक्तिका लागि आफूलाई कुनै पनि प्रकारको सिफारिस वा अनुरोध नगर्न स्पष्ट आग्रह गरेका छन्। यस्तो प्रवृत्तिले नै नेपालमा कुशासन र भ्रष्टाचारलाई संस्थागत बनाएको उनको भनाइ छ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्तव्य सार्वजनिक गर्दै मन्त्री पुनले ‘फलानो ठाउँमा जागिर खाली रहेछ, भनिदिनुस् न मन्त्रीज्यू’ भन्ने किसिमका अनुरोधहरू नै गलत संस्कृतिको जरो भएको उल्लेख गरेका छन्। उनले यस्ता आग्रहले योग्यताभन्दा पहुँच र चाकरीलाई प्राथमिकता दिने वातावरण बनेको बताए।
उनका अनुसार नेताहरूले व्यक्तिगत तथा पार्टी स्वार्थका कारण नियम–कानुनको उल्लङ्घन गर्दै अनैतिक रूपमा अयोग्य व्यक्तिहरूलाई जिम्मेवार पदमा पुर्याउँदा देशमा कुशासन र भ्रष्टाचार चरम सीमामा पुगेको हो। यही कारणले आजको पुस्तामा असन्तोष बढ्दै गएको र त्यसले ‘जेन–जी विस्फोट’को रूप लिएको उनको ठहर छ।
मन्त्री पुनले सुशासन स्थापनाका लागि सबैले नियम र प्रक्रियाको सम्मान गर्नुपर्नेमा जोड दिँदै, नियुक्ति र अवसरमा पारदर्शिता र मेरिट प्रणाली अनिवार्य हुनुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस