१२ बैशाख २०८३ शनिबार | 25 Apr 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हात्तीको ठूलो बथान झापा प्रवेश, वन कार्यालयद्वारा उच्च सतर्कता अपिल



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या २१९
  • झापा, कार्तिक ३० - पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको ठूलो बथान प्रवेश गरेपछि झापा जिल्लामा सतर्कता अपनाउन वन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ।

    डिभिजन वन कार्यालयका अनुसार मोरङतर्फबाट करिब २५ देखि ३० वटा हात्ती बच्चासहित एकैपटक झापा आएका छन्। बथान प्रवेशसँगै रात्देखि नै स्थानीय बस्तीमा जोखिम बढ्न सक्ने भएकाले गस्ती र माइकिङमार्फत चेतनामूलक सूचना फैलाइरहेको कार्यालयले जनाएको छ।

    डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार करिब डेढ वर्षअघि नेपाल प्रवेश गरेको ठूलो बथानका केही हात्तीहरू पछिल्ला महिनासम्म मोरङ र सुनसरीतर्फका जंगलमा बस्दै आएका थिए।

    “त्यही समूह भारत फर्कने क्रममा झापा आइपुगेको हो,” उनले भने, “जनधनको क्षति नहोस् भनेर हामी निरन्तर रात्री गस्ती गरिरहेका छौँ।”

    श्रेष्ठका अनुसार हात्तीहरू दिनभर सामुदायिक वनभित्र बस्ने र राति मात्र सार्दै हिँड्ने भएकाले रात्री गस्तीलाई झनै कडाइ गरिएको छ। अहिले बथान शिवसताक्षीधामको रतुवामाई वृक्षारोपण क्षेत्रमा रहेको बताइएको छ।

    हात्तीको चालढाल अनुगमन गर्न वन कार्यालयले दैनिक स्थिति रेखाङ्कन गरिरहेको र आज वा भोलिसम्ममा बाहुनडाँगीको प्रसाद गौँडा हुँदै बथान भारततर्फ फर्किने अनुमान गरिएको श्रेष्ठले जानकारी दिए।

    स्थानीयवासीलाई जंगलनजिक नजान, राति एक्लै हिँडडुल नगर्न र हात्तीको उपस्थितिबारे कुनै जानकारी मिले तत्काल नजिकको वन कार्यालयलाई खबर गर्न आग्रह गरिएको छ।