काठमाडौं, पुस २९ - विभिन्न १८ राजनीतिक दलका समानुपातिक तर्फका १६४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनेहरूको स्थानमा नयाँ नाम सिफारिस गर्न सम्बन्धित राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक सूचीमा रहेका उम्मेदवारहरूले नाम फिर्ता लिएपछि आयोगले दलहरूलाई तोकिएको प्रक्रियाअनुसार नयाँ नाम पठाउन औपचारिक रूपमा सूचित गरेको हो।
आयोगको विवरणअनुसार सबैभन्दा धेरै उम्मेदवारी फिर्ता लिने दल लोकतान्त्रिक समाजवादी पार्टी रहेको छ। लोसपाबाट ७८ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। जसपा नेपालसँग पार्टी एकता भएपछि लोसपाले समानुपातिक सूची संशोधन गरेको हो।
त्यसपछि जनता समाजवादी पार्टी नेपालबाट २१ जना, जनमत पार्टीबाट २० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जनाले नाम फिर्ता लिएका छन्।
अन्य दलतर्फ जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का ४ जना तथा राष्ट्र निर्माण दल नेपालका ४ जना उम्मेदवारले पनि समानुपातिक सूचीबाट उम्मेदवारी फिर्ता लिएका छन्।
प्रतिक्रिया दिनुहोस