२९ चैत २०८२ आईतबार | 12 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

६ देशका राजदूतलाई सरकारले फिर्ता बोलायो, एक महिनाभित्र स्वदेश फर्किन निर्देशन



  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ७३
  • काठमाडौं, चैत २४ - सरकारले विभिन्न देशमा कार्यरत ६ जना नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उक्त निर्णय गर्दै सम्बन्धित राजदूतहरुलाई एक महिनाभित्र स्वदेश फर्किन निर्देशन दिएको हो।

    परराष्ट्र मन्त्रालयले सोमबार पत्राचार गर्दै भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकामा रहेका नेपाली राजदूतहरुलाई औपचारिक रूपमा फिर्ता हुन जानकारी गराएको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि उक्त प्रक्रिया अघि बढाइएको हो।

    हाल भारतमा शंकरप्रसाद शर्मा, अस्ट्रेलियामा चित्रलेखा यादव, डेनमार्कमा सुम्निमा तुलाधर, श्रीलंकामा पूर्णबहादुर नेपाली, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ राजदूतका रूपमा कार्यरत छन्।

    उल्लेखित राजदूतहरू सबै केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका हुन्। त्यतिबेला ३४ वटा कूटनीतिक नियोगमध्ये १७ मा राजनीतिक आधारमा नियुक्ति गरिएको थियो।

    यसअघि पनि अन्तरिम व्यवस्थापनको क्रममा सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाइसकेको थियो। अहिले बाँकी रहेका ६ जनालाई वर्तमान सरकारले फिर्ता गर्ने निर्णय गरेको हो।

    यसअघि फिर्ता बोलाइएका राजदूतहरूले परराष्ट्र मन्त्रालयमा उपस्थित भई औपचारिक रूपमा कार्यभार समापन गर्दै स्वदेश फर्किने प्रचलन रहेको छ।