काठमाडौं, वैशाख १६ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको अध्यादेश आम नागरिकका दैनिक कामलाई सहज र छरितो बनाउन लक्षित रहेको स्पष्ट पारेको छ ।
सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहित सांसदहरूबीच भएको अनौपचारिक छलफलपछि यस्तो निष्कर्ष निकालिएको हो । पार्टीका महामन्त्री तथा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अध्यादेश कुनै व्यक्ति वा दल विशेषलाई फाइदा पुर्याउने उद्देश्यले नआएको बताएका छन् ।
उनका अनुसार, नागरिकबाट ‘छिटो काम गर’ भन्ने अपेक्षा रहँदा विद्यमान कानुनी प्रक्रिया अत्यन्तै ढिलो हुने गरेको छ । सामान्य कामसमेत सम्पन्न गर्न तीन–चार महिनाभन्दा बढी समय लाग्ने अवस्था रहेको उनले उल्लेख गरे ।
बुर्लाकोटीले सडकमा रहेका रुख हटाउने जस्ता विषयसमेत प्रक्रिया जटिल हुँदा महिनौँसम्म अल्झिने गरेको उदाहरण दिँदै यस्ता झन्झटिला कामलाई छिटो टुंग्याउन अध्यादेश ल्याइएको बताए ।
रास्वपाले प्रशासनिक झमेला घटाई सेवा प्रवाह प्रभावकारी बनाउन अध्यादेश आवश्यक भएको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस