फिदिम । पथरी ११ फुटबल क्लबलाई ४–१ गोलले हराउँदै सर्लाहीको बागमती यूथ क्लब फिदिममा जारी चौथो पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ ।
पाँचथर सदरमुकामस्थित फिदिम माविको मैदानमा सोमबार भएको खेलमा ट्राईबेकरमा पथरीलाई हराउँदै बागमतीले सेमीफाइनको स्थान बनाएको हो । निर्धारित समयमा दुबै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
ट्राई बेकरमा बागमतीका निर्मल बल, अभि लामा, डेवा गुरुङ र अनिल राना मगरले गोल गरे । पथरीका लागि एकमात्र गोल निरोज परियारले गोल गरे । विदेशी खेलाडी ओडे ग्लोरी र मञ्जिल खड्काले प्रहार गरेको बल बागमतीका गोल रक्षक रौनक चौलागाईले विफल पारिदिए ।
खेलको निर्धारित समयमा पाएको सुन्दर मौकामा स्कोर गर्न नसक्दा पथरी प्रतियोगिताबाट बाहिरिन पुग्यो । पहिलो हाफमा बागमतीलाई दबाबमा राखेको पथरीले दोस्रो हाफमा फितलो प्रदर्शन गरेको थियो ।
सोमबारको खेलमा बागमतीका गोल रक्षक रौनक चौलागाई म्यान अफ दी म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) पाँचथरका कार्यवाहक अध्यक्ष विमल सापकोटाले पाँच हजार नगद पुरस्कार प्रदान गरे । सोमबारको खेलमा फिदिम नगरपालिका २ का दर्शक टेकनाथ काफ्ले फ्यान अफ दी म्याच घोषित भए । उनले दुई हजार पाँच सय पुरस्कार प्राप्त गरे ।
मङ्गलवार हुने खेलमा भारतको हिल्स फुटबल एकेडेमीले ए डिभिजन क्लब त्रिभुवन आर्मीको सामना गर्नेछ । प्रतियोगिताको विजेता टिमले पाँच लाख पाँच हजार र उपबिजाते टिमले दुई लाख ५५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष निशान शिवकोटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस