ताप्लेजुङ् - ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आजबाट ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सुरु भएको छ । ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचार प्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ आजबाट ५ दिन सम्म सञ्चालन हुनेछ ।
महोत्सवको पहिलो दिन विभिन्न सांस्कृतिक झाँकी सहित बिहान फुङलिङ नगरपालिका ६ को पाथिभरा चोकबाट कलश यात्रा सुरु भइ तोक्मे डाँडा पुगि पुन कार्यक्रम स्थलमा पुगेर महोत्सवको औपचारिक उद्घाटन गरिएको छ ।
विभिन्न जात जाति , भाषा, धर्मालबिहरुको सहभागीतामा कलशयात्रा बाट सुरु भएको महोत्सव आगामी जेठ ७ गते सम्म चल्ने छ । कार्यक्रमस्थलमा घरेलु उत्पादनका सामग्रीसहित औद्योगिक प्रदर्शनी, मौलिक खाद्य परिकारजस्ता व्यापारिक स्टलहरू राखिएका छन् ।जिल्लाको पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी स्टल पनि राखिएको छ ।
यसैगरी, महोत्सवको आकर्षणमा आजदेखि नै फङ्लिङ नगरपालिकाको आयोजनामा अन्तरपालिकास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बजार क्षेत्र भने झकिझकाउ देखिएको छ । स्थानियले स्वतस्फुर्त रुपमा आफ्नो पसल तथा घर अगाडि कलश सिहतको फूल , सजिसजावटका सामान राखि स्वागत गरेका छन् ।
महोत्सवमा विभिन्न प्रतियोगिता सँगै साहित्यिक र सांस्कृतिक कार्यक्रम हुने छ । साथै, पाथिभरा धामदेखि सदरमुकाम सम्म साइकिलिङ समेत हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा विभिन्न खाद्य परिकारको स्टल रहेका छन भने, सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । महोत्सव फुङ्लिङ नगरपालिकामा रहेको हुलाक कार्यलय छेउमा सञ्चालन भइरहेको छ । साङ्गीतिक कार्यक्रम अन्तर्गत प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस