८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चार महिनामा १२ अर्ब ७१ करोड रुपैयाँ बराबरको विद्युत् भारत निर्यात

पहिलो चार महिनामा (साउन–कार्तिक) नेपाल विद्युत् प्राधिकरणले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ।



Electric Tower
  • Sangeeta Gurung
  • १ महिना अघि
  • पाठक संख्या ८५
  • चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा (साउन–कार्तिक) नेपाल विद्युत् प्राधिकरणले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ।

    प्राधिकरणका अनुसार, साउनदेखि कार्तिकसम्मको अवधिमा देशभित्र खपत गरी अतिरिक्त १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारतको ऊर्जा एक्सचेन्ज (आईएक्स) मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा निर्यात गरिएको हो।

    यस अवधिमा विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा रहेको प्राधिकरणले जनाएको छ। साउन महिनामा विद्युत् निर्यातको कुल रकम ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँ थियो, जसमा ४९ करोड ५६ लाख ६ हजार युनिट विद्युत् निर्यात गरिएको थियो। त्यस्तै, भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँ बराबरको ५५ करोड ९४ लाख ४७ हजार युनिट विद्युत् निर्यात गरिएको थियो।

    असोज र कात्तिक महिनामा पनि क्रमशः ३ अर्ब ६ करोड ५१ लाख ३९ हजार र १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युत् निर्यात गरिएको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढी र पहिरोका कारण विद्युत् उत्पादनमा गिरावट आएको र त्यसका कारण विद्युत् निर्यात प्रभावित भएको जानकारी दिए। माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र काबेली करिडोर प्रसारण लाइनमा आएको क्षतिका कारण असोज र कात्तिक महिनामा निर्यातमा कमी आएको छ।