८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन, चाक्सीबारीमा श्रद्धाञ्जली

पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा राखिएको छ।



Former Mayor PL Singh
  • Sangeeta Gurung
  • ७ दिन अघि
  • पाठक संख्या ६९
  • काठमाडौं - पूर्वमेयर पिएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा राखिएको छ।

    उपप्रधानमन्त्री सिंहले पिएल सिंहको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्, "हाम्रो परिवारका ज्येष्ठ सदस्य, काठमाडौंका पूर्वमेयर तथा पूर्वमन्त्री पिएल दाइको निधनले गहिरो दुःख लागेको छ। उहाँले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ।"

    चाक्सीबारीमा पुगेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, नेपाली कांग्रेसका नेता नरहरि आचार्य, जगदीश्वरनरसिंह केसीलगायतले पूर्वमेयर सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

    ८८ वर्षीय सिंह लामो समयदेखि बिरामी थिए। पेटको अल्सर लगायतका समस्याका कारण उनले गत वर्ष शल्यक्रिया गराएका थिए।

    पिएल सिंहकै नेतृत्वमा काठमाडौं नगरपालिकालाई काठमाडौं महानगरपालिकामा रूपान्तरण गरिएको थियो। २०४९ सालको स्थानीय चुनावपछि उनी काठमाडौंको मेयरमा निर्वाचित भएका थिए।

    उनको निधनको शोकमा काठमाडौं महानगरपालिकाले सोमबार महानगरभर सार्वजनिक बिदा दिएको छ।

    पूर्वमेयर सिंहको पार्थिव शरीरलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पनि श्रद्धाञ्जलीका लागि राखिनेछ। आइतबार लखितर्थ, कंकेश्वरी मन्दिर नजिक उनको अन्त्येष्टि गरिनेछ।

    नेपाली कांग्रेसले पूर्वमेयर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गर्न सोमबार बिहान ११:३० बजे केन्द्रीय समिति बैठक बोलाएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आकस्मिक रूपमा बोलाइएको उक्त बैठकमा सिंहको योगदानको स्मरण गरिने जानकारी दिएका छन्।