काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज कास्कीको पोखरामा प्रदर्शन गरेको छ। पोखराको पृथ्वीचोकमा पार्टीका कार्यकर्ताहरूले मानव अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले "मानव अधिकार कायम गर", "आईजीपीलाई अनुसन्धान गर", "भ्रष्ट सरकार मुर्दावाद", र "सहकारी पीडितलाई न्याय दे" जस्ता नाराहरू लगाएका छन्। प्रदर्शन स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
यसैबीच, रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको निगरानीमा पोखरा पुर्याइएको छ। उनी वीरगन्जको साना पाइला बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित ठगी प्रकरणमा बयान दिएर पोखरा आएका हुन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दीपक थापाका अनुसार, लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी, र सम्पत्ति शुद्धीकरण प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। प्रहरीले उनीविरुद्धका सबैतिरका बयान सकाइसकेको छ।
रास्वपाले लामिछानेमाथिको अनुसन्धानलाई राजनीतिक रूपमा प्रभावित गरिएको भन्दै विरोध जनाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस