काठमाडौं – ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ सम्मेलन काठमाडौंको याक एण्ड यति होटलमा सुरु भएको छ।
तीन दिनसम्म चल्ने यस सम्मेलनमा कम्तीमा २० देशका बौद्ध भिक्षुहरू सहभागी छन्। उद्घाटन कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।
कार्यक्रममा चीनका धर्मगुरु पञ्चेन लामा आउने चर्चा भए पनि उनी सहभागी भएका छैनन्।
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा नेपाल र चीनबीचको सम्बन्धलाई बौद्ध धर्मले एकजुट पार्ने महत्वपूर्ण तत्वका रूपमा उल्लेख गरे। उनले भने, “नेपाल र चीनबीचको बौद्ध धर्मको सम्बन्ध दुई राष्ट्रका आध्यात्मिक र सांस्कृतिक धागोका रूपमा रहेको छ, जसले शान्ति, करुणा, र सहयोगका मूल्यलाई प्रवर्द्धन गर्दछ।”
प्रधानमन्त्रीले गौतम बुद्धको पवित्र जन्मस्थान नेपालले बौद्ध धर्मको सम्पदामा चीनसँगको सम्बन्धलाई मजबुत बनाएको बताए। साथै, चिनियाँ भिक्षुहरू फा जियान र जुआन जाङको नेपाल भ्रमणदेखि नेपाली विद्वान बुद्धभद्रको चीन यात्रासम्मको ऐतिहासिक योगदान स्मरण गरे।
उनले चीनमा रहेका नेपाली शैलीका बौद्ध मन्दिरहरू र लुम्बिनीस्थित झोङ हुआ चिनियाँ बौद्ध मठलाई दुई देशबीचको सम्बन्धको प्रतीकको रूपमा व्याख्या गरे।
प्रधानमन्त्री ओलीले यस सम्मेलनले नेपाल, चीन र अन्य देशका बौद्ध समुदायहरूबीच सांस्कृतिक आदानप्रदानलाई थप गाढा बनाउने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस