काठमाडौं - पूर्वमेयर पीएल सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ।
महानगरपालिका र मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन्। सिंह २०४९ सालमा काठमाडौं नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनको पहलमा काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो।
सिंहको निधन गएराति १ बजे ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा भएको हो। उनी सर्वमान्य नेता गणेशमान सिंहका प्रमुख सहयोगीका रूपमा पनि परिचित थिए।
उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिने छ। दिउँसो १२ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। सिंहको अन्त्येष्टि कंकेश्वरी मन्दिरनजिकै रहेको लख तीर्थमा आजै गरिनेछ।
सिंह अविवाहित थिए। उनका भाइ र बहिनीहरू जीवित छन्।
प्रतिक्रिया दिनुहोस