२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

'पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार’ परियोजनाको निर्माण कार्य सुरु

पाथीभरा देवी मन्दिरसम्म पुग्ने ‘पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार’ परियोजनाको निर्माण कार्य मंगलबारदेखि सुरु भएको छ।



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या २८१
  • काठमाडौं, माघ ८ - ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने ‘पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार’ परियोजनाको निर्माण कार्य मंगलबारदेखि सुरु भएको छ।

    हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबुलकार निर्माण कार्यको औपचारिक सुरुवात भएको जानकारी दिए। उनले जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, सरकारी तथा सुरक्षा निकायको सहयोगमा निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने बताए।

    केबुलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबुलकार निर्माणपछि ताप्लेजुङको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य योगदान पुग्ने र कोशी प्रदेशकै आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनका अनुसार आगामी १५ महिनाभित्र भक्तजनले केबुलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सक्नेछन्।

    पौडेलले केबुलकारले विशेष गरी अशक्त, वृद्धवृद्धा र बालबालिकालाई मन्दिरसम्म पुग्न सहज बनाउने उल्लेख गरे। यसले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक सामाजिक विकासमा पनि सहयोग पुर्‍याउने उनको विश्वास छ।

    पाथीभरा केबुलकार सञ्चालनमा आएपछि वार्षिक १० लाख पर्यटकले देवीको दर्शन गर्ने अपेक्षा गरिएको छ। केबुलकारले पाथीभरा देवीको दर्शन सहज बनाएर भक्तजनको संख्या बढाउने अनुमान गरिएको छ।

    आईएमई ग्रुपले पाथीभरा केबुलकारको सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ। यसअघि काठमाडौँको चन्द्रागिरि, नवलपुरको मौलाकाली, र बुटवलको लुम्बिनीमा सफलतापूर्वक केबुलकार निर्माण तथा सञ्चालन गरिसकेको आईएमईले यो परियोजना पनि समयमै सम्पन्न गर्ने लक्ष्य राखेको छ।

    पाथीभरा केबुलकार निर्माणले ताप्लेजुङलाई दिगो तथा सुरक्षित पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। आईएमई ग्रुपले यो परियोजनालाई नेपालको पर्यटन क्षेत्रमा ‘गेम चेन्जर’ बनाउन प्रतिबद्ध रहेको जनाएको छ।