२७ चैत २०८१ बुधबार | 09 Apr 2025 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

सुप्रिम सहकारी अपचलनको मुद्दामा बयान दिन उनी अदालत जान लागेका हुन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ७६
  • काठमाडौं, माघ ९ - पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। सुप्रिम सहकारी अपचलनको मुद्दामा बयान दिन उनी अदालत जान लागेका हुन्।

    लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगेका थिए। अपराह्न काठमाडौं विमानस्थलबाट भैरहवा पुगेका उनीसँग केही वकिल र समर्थकहरू पनि थिए।

    यसअघि कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा उनी ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। त्यसपछि कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान दिएर ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

    रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएपछि लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो। उनले २७ कात्तिकमा सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए।

    सुप्रिम सहकारीको मुद्दा ३ वैशाखमा दर्ता भएको थियो। बचतकर्ताहरूको ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगानी भएको पाइएको छ।

    गोर्खा मिडिया नेटवर्कले २०७७ सालमा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो। सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशीले सञ्चालन गरेको नेटवर्कमा रवि लामिछाने पछि प्रबन्ध निर्देशक बनेका थिए।

    अनुसन्धानका क्रममा ग्यालेक्सी टीभीमा दुई करोड रुपैयाँ लामिछानेको नाममा ऋण गएर जम्मा भएको देखिएको छ, जुन रकम स्वीकृत भएलगत्तै गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको थियो।

    सुप्रिम सहकारीको रकम अपचलनको यो मुद्दामा लामिछानेको भूमिका र गोर्खा मिडिया नेटवर्कको संलग्नता अझै अनुसन्धानमै रहेको छ।