काठमाडौँ, ११ जेठ २०८२ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबारे छलफल गर्न पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्।
बैठक सोमबार बिहान ९ बजे देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ। कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलका अनुसार बैठकको मुख्य एजेन्डा गृहमन्त्री लेखकप्रति उठेका शंकाका विषयमा पार्टीको धारणा तय गर्नु रहेको छ।
एक पदाधिकारीका अनुसार, "गृहमन्त्रीज्यू भिजिट भिसा प्रकरणमा मुछिनुभएको सन्दर्भमा पार्टीको आधिकारिक कदम के हुने भन्ने छलफल मुख्य विषय हो। अन्य विषयहरू पनि बैठकमा उठ्न सक्छन्।"
यस बैठकमा क्रियाशील सदस्यता नवीकरणको अवस्थाबारे पनि छलफल हुनेछ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले पदाधिकारीहरूलाई जानकारी गराउने छन्।
गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारी प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो। भट्टराईका डिजिटल डिभाइसहरू समेत जफत गरिएको छ। उक्त अनुसन्धानको शङ्काको घेरामा गृहमन्त्री लेखक पनि परेपछि उनको राजीनामाबारे कांग्रेसभित्र बहस सुरु भएको छ।
लेखकले राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने विषयमा कांग्रेसभित्र विभाजित धारणा देखिएको छ। यही परिस्थितिमा पार्टीको औपचारिक निर्णयका लागि सभापति देउवाले पदाधिकारी बैठक आह्वान गरेका हुन्।
प्रतिक्रिया दिनुहोस