काठमाडौं, जेठ २७ - चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म उद्योग विभागमा ९ हजार ९ सय ६३ उद्योग दर्ता भएका छन्। सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार यी उद्योगहरूले ७ लाख ३१ हजार ५ सय ६० रोजगारी सिर्जना गरेको अनुमान गरिएको छ।
उद्योग विभागमा दर्ता भएका उद्योगमध्ये १५ प्रतिशत ठूला, २२ प्रतिशत मझौला र ६३ प्रतिशत साना उद्योग रहेका छन्। पछिल्लो समयमा साना उद्योगको दर्ता दर सबैभन्दा धेरै देखिएको छ।
यस अवधिमा कुल स्वीकृत लगानी ३२ खर्ब ४८ अर्ब ७ करोड रुपैयाँ रहेको छ। लगानीका हिसाबले ८३ प्रतिशत ठूला, १० प्रतिशत मझौला र ७ प्रतिशत साना उद्योगमा भएको देखिएको छ।
२०८१ फागुनसम्मको पाँच महिनाको अवधिमा मात्र २६८ नयाँ उद्योग दर्ता भएका छन्। माघ, फागुन, चैत, वैशाख र जेठ महिनामा क्रमशः ४९, ५२, ४९, ६९ र ४९ उद्योग स्थापना भएका हुन्। वैशाख र जेठ महिनामा मात्र ११८ उद्योग दर्ता भएका छन्।
त्यस्तै, चालु आर्थिक वर्षमा ४ सय ३८ नयाँ उद्योग दर्ता भई १ खर्ब ७१ अर्ब ३६ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ। यसबाट करिब २३ हजार ६४ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।
फागुनसम्म उद्योग विभागमा दर्ता भएका ६ हजार ९ सय ८२ परियोजनामा ५ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ। तीमध्ये ४ सय २७ परियोजनामा मात्रै ४४ अर्ब ६६ करोड रुपैयाँ विदेशी लगानी प्राप्त भएको छ।
दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक उद्योग ३५.८४ प्रतिशत, सेवामूलक २५.७९ प्रतिशत र पर्यटन उद्योग २३.१० प्रतिशत रहेका छन्। पूर्वाधारसम्बन्धी उद्योगको हिस्सा भने मात्र ०.७६ प्रतिशत देखिएको छ।
लगानीको दृष्टिले ऊर्जा क्षेत्रमा सबैभन्दा बढी ५६.५५ प्रतिशत, उत्पादनमूलकमा २०.९६ प्रतिशत, पर्यटनमा ९ प्रतिशत र खनिज उद्योगमा सबैभन्दा कम ०.२९ प्रतिशत लगानी भएको छ।
वैदेशिक लगानीको सन्दर्भमा फागुनसम्म स्वीकृत लगानीमध्ये ४४ प्रतिशत चीन र १९.४ प्रतिशत भारतबाट प्राप्त भएको छ। संख्याका आधारमा पनि चीनको ४०.९ प्रतिशत र भारतको १२.६ प्रतिशत हिस्सा रहेको छ।
प्रतिक्रिया दिनुहोस