२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपाको तेस्रो वार्षिकोत्सव : भिजिट भिसा प्रकरणविरुद्ध देशव्यापी अभियान घोषणा

भिजिट भिसा प्रकरणलाई लिएर पार्टीले सडक र संसद दुवै थलोमा संघर्षलाई तीव्र बनाउने बताएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २५१
  • काठमाडौं, असार ५ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष अभियानका साथ मनाउने भएको छ।

    बिहीबार बिहान बसेको पार्टी सचिवालयको बैठकले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

    भिजिट भिसा प्रकरणलाई लिएर पार्टीले सडक र संसद दुवै थलोमा संघर्षलाई तीव्र बनाउने बताएको छ। आगामी ७ असारको बिहान ७ बजे केन्द्रीय समिति बैठक बोलाइएको छ, जसमा भिजिट भिसा काण्डमा पार्टीको भूमिकाबारे थप छलफल गरिनेछ।

    बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको ‘झुट्टा र प्रतिशोधपूर्ण’ मुद्दा र भिजिट भिसा प्रकरणमा पार्टीको संसदीय गतिविधिबारे विस्तृत समीक्षा गरिने निर्णय गरिएको छ। साथै, संसदीय दललाई संसदमा अझ सशक्त रूपमा प्रस्तुत हुन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

    यसअघि रास्वपाले वार्षिकोत्सव केन्द्रीय कार्यालयमा चियापान कार्यक्रममार्फत मनाउँदै आएको थियो। तर, यस वर्ष भने पार्टीले संघर्ष र अभियानमार्फत वार्षिकोत्सवलाई विशेष बनाउने तयारी गरेको छ।

    बैठकले पार्टी संगठन विस्तार र नेतृत्व नियुक्तिसमेत गरेको छ। डा. स्वर्णिम वाग्लेलाई नीति तथा विचार विभागको प्रमुख र सन्तोष परियारलाई उपप्रमुखमा मनोनीत गरिएको छ। यस्तै, मनीष झाले अभियान तथा प्रचारप्रसार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने राजन गौतमलाई कृषि विभाग प्रमुख बनाइएको छ।

    रास्वपाले यो अभियानलाई देशभर विस्तार गर्दै आमजनसमक्ष पार्टीको विचार, उद्देश्य र मुद्दालाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने जनाएको छ।