भैरहवा, असार ८ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने हाल रुपन्देहीको भैरहवा कारागारमा थुनामा छन्। रास्वपाले सभापति लामिछाने थुनामा रहेकाले पार्टीको स्थापना दिवस यसपटक उत्सवमुक्त र प्रतिकात्मक रुपमा मनाएको छ। विगतका वर्षहरूमा रंगीन कार्यक्रम गर्दै मनाइने वार्षिकोत्सव यसपटक राजनीतिक सन्देशमा केन्द्रित भएको देखिएको छ।
भैरहवाको आवा रोडस्थित जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर कैदी राखिएका छन्। २५० जनाको क्षमताको कारागारमा अहिले ५९४ जना कैदीबन्दी छन्, जसमा रवि लामिछाने पनि एक हुन्। उनी २५ चैतदेखि बन्दी जीवन बिताइरहेका छन्।
कारागारमा रवि लामिछाने छुट्टै ब्लकमा एक्लै बस्छन्। टिनको छाना भएको कोठामा चर्को गर्मीमा एउटा पंखासहितको सुविधा उपलब्ध छ। प्रहरी स्रोतका अनुसार उनी बिहान ५ बजे नै उठ्छन्, विस्तारा मिलाउँछन्, नित्यकर्मपछि शारीरिक व्यायाम गर्छन्। त्यसपछि उनी रेडियो सुन्छन् र पुस्तक पढ्छन्।
बिहान १० बजेतिर उनी अरू कैदीहरूसँगै मेसमा दाल–भात र तरकारी खाँदै देखिन्छन्। अहिलेसम्म उनले कारागार प्रशासनसँग कुनै गुनासो नगरेको जनाइएको छ।
पूर्वगृहमन्त्री भएकाले उनलाई कहिलेकाहीँ प्रशासनले अवस्थाबारे सोधपुछ गर्छ। तर उनी ‘सबै ठीक छ, कारागारमा मलाई केही चाहिँदैन, म खुशी छु’ भन्दै मुस्कुराउने गरेको प्रहरी स्रोत बताउँछ।
उनको अधिकांश समय पढाइमै बित्ने गरेको छ। अंग्रेजी र नेपाली पुस्तकहरू पढ्न उनी रुचाउँछन्। कारागार स्रोतका अनुसार, "उहाँको दिनचर्या अरू कैदीसरह सामान्य छ, तर पुस्तक पढाइमा बढी ध्यान दिनुहुन्छ।"
रवि लामिछानेलाई भेट्न हप्तामा सोमबार, बुधबार र शुक्रबार समय छुट्याइएको छ। उनी आफ्ना पार्टी नेता तथा कार्यकर्ताहरूसँग भेट्दा आफू राजनीतिक प्रतिशोधको सिकार भएको बताउने गरेका छन्। तर न्यायमा आफूलाई विश्वास रहेको पनि उनी दोहोर्याउँछन्।
कारागार सरुवा प्रक्रिया रोकिएपछि उनी केही तनावमा रहेको रास्वपाका स्रोतले जनाएका छन्। उनी काठमाडौँको कारागारमा जान चाहन्थे, तर प्रक्रिया रोकिँदा असहज भएको बताइएको छ।
सुप्रिम सहकारीको निक्षेप हिनामिना प्रकरणमा लामिछानेमाथि पूर्व डीआईजी छविलाल जोशीसँगै आरोप लागेका छन्। उच्च अदालत तुलसीपुरको आदेशपछि उनी हाल जेलमा छन्। पत्नी निकिताले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदन अदालतबाट अस्वीकार भएपछि पार्टीका नेता–कार्यकर्तामा निराशा देखिएको छ।
आरम्भमा लामिछानेलाई भेट्न भीड लागे पनि हाल परिवार र सचिवालय सदस्यबाहेक भेट्नेहरूको संख्या घटेको छ। सुरक्षा व्यवस्थाप्रति भने कारागार प्रशासन उच्च सतर्कतामा रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस