२१ असार २०८३ आईतबार | 05 Jul 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गायिका समीक्षा अधिकारीलाई अभद्र टिप्पणी गर्ने व्यक्तिले मागे माफी

अधिकारीले सामाजिक सञ्जालमार्फत ती व्यक्तिको कमेन्ट सार्वजनिक गरेपछि ती प्रयोगकर्ताले तुरुन्तै समीक्षा अधिकारीसँग माफी मागेका छन् ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३६२
  • काठमाडौँ, असार ८ -  गायिका समीक्षा अधिकारीलाई सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने एक प्रयोगकर्ताले सार्वजनिक रूपमा माफी मागेका छन् । अधिकारीले ती प्रयोगकर्ताको अभद्र कमेन्टको स्क्रिनसटसहित सामाजिक सञ्जालमा पोस्ट गरेपछि त्यसप्रति व्यापक चासो देखिएको थियो ।

    अधिकारीले सामाजिक सञ्जालमार्फत ती व्यक्तिको कमेन्ट सार्वजनिक गरेपछि ती प्रयोगकर्ताले तुरुन्तै समीक्षा अधिकारीसँग माफी माग्दै लेखेका छन्, "समीक्षा बहिनी, जे लेखियो त्यसका लागि हृदयदेखि माफी माग्छु । यसलाई लामो बनाउनुभन्दा फेरि भेट हुँदा हात जोडेर माफ मागुँला ।"

    गायिका अधिकारीले पनि सार्वजनिक माफीलाई स्वीकृति दिँदै ती व्यक्तिको कमेन्टसहितको स्क्रिनसट हटाएकी छन् । उनले लेखेकी छन्, “माफीको दायरालाई मैले नाघ्न सकिनँ, त्यसैले उहाँलाई माफीसँगै सुझाव दिन चाहन्छु — अरूलाई आफ्नो व्यक्तित्व चिनाउनु पूर्व, पहिलो आफूलाई चिन्नुहोस् । सङ्घर्षको मैदानमा लडेर उठेको मान्छे म, अरूलाई लडाउन खोज्दा आफैँ पनि लडिन्छ भन्ने बुझ्न आवश्यक छ ।”

    समीक्षाको यस कदमप्रति धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले समर्थन जनाएका छन् । उनले देखाएको साहस र व्यवहारिक निर्णयको सराहना गर्दै शुभेच्छुकहरूले उनलाई आफ्नो "मिसन" मा डटेर अघि बढ्न सुझाव दिएका छन् ।

    गायिका अधिकारीप्रति गरिएको अभद्र टिप्पणी उनको व्यक्तिगत विगतलाई लिएर गरिएको थियो । उक्त कमेन्ट सार्वजनिक भएपछि उनले ती व्यक्तिको टिप्पणी र आफ्नो परिवारको तस्बिरसहितको पोस्ट सामाजिक सञ्जालमा राखेकी थिइन्, जुन पोस्ट निकै भाइरल भएको थियो ।

    यो घटनाले सामाजिक सञ्जालमा हुने अभद्र व्यवहारबारे पुनः बहस सुरु गरिदिएको छ भने समीक्षा अधिकारीको संयमित र सकारात्मक प्रतिक्रिया समाजमा एक उदाहरण बनेको छ ।