६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रविको पक्षमा ‘लिगल डिफेन्स फण्ड’, रास्वपाले क्युआर कोडमार्फत चन्दा संकलन गर्दै

रविका समर्थकबाट हस्ताक्षर संकलनसँगै QR कोडमार्फत आर्थिक सहयोग पनि उठाइरहेको छ।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १८४
  • पोखरा, असार १२ - सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा पार्टीले चन्दा संकलन अभियान थालेको छ। रविका समर्थकबाट हस्ताक्षर संकलनसँगै QR कोडमार्फत आर्थिक सहयोग पनि उठाइरहेको छ।

    असार ७ गते भैरहवा कारागारबाट जारी गरिएको अपिलमार्फत रविले आफूविरुद्धको मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ भन्दै हस्ताक्षर अभियान चलाउन आह्वान गरेका थिए। सोही आधारमा रास्वपाले देशविदेशमा हस्ताक्षर र सहयोग संकलन सुरु गरेको हो।

    QR कोड राखेर चन्दा उठाइरहेको विषयमा पारदर्शिता नभएको भन्दै केही प्रश्न उठिरहेका छन्। संकलित रकम कहाँ राखिएको छ? कसरी खर्च भइरहेको छ? भन्ने विषयमा पार्टी नेतृत्वबाट स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।

    तर, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर अभियान सञ्चालनका लागि छुट्टै खाता खोलेर ‘स्वतस्फूर्त सहयोग’ संकलन भइरहेको बताए। उनका अनुसार, यसअघि पार्टी र शुभेच्छुकबाट सहयोग आइरहेको भए पनि अब ‘लिगल डिफेन्स फण्ड’ बनाइएको छ।

    पार्टी प्रवक्ता तथा संघीय सांसद मनिष झाले पार्टीको आर्थिक अवस्था कमजोर भएकाले छुट्टै फण्ड बनाउनु परेको बताए। “सभापतिजीको मुद्दामा न्यायिक खर्च यही फण्डबाट हुनेछ,” उनले भने।

    ग्लोबल आईएमई बैंकमा खोलिएको यो उपखातामा कोषाध्यक्ष निमा अधिकारी र सहकोषाध्यक्ष दीपक बोहोराको हस्ताक्षर चल्ने व्यवस्था गरिएको छ। कार्यविधिको मस्यौदा निर्माणको जिम्मेवारी पनि बोहोरालाई दिइएको छ।

    यता, रवि लामिछानेलाई बुटवलस्थित उच्च अदालत तुलसीपुरले चैत २२ गते थुनामा पठाउने आदेश दिएको थियो। सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा रविसहित ४२ जना प्रतिवादी छन्। जिल्ला अदालतले उनलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो, तर उच्च अदालतले सो आदेश बदर गर्दै थुनामा पठाएको हो।

    पार्टी सभापति थुनामा परेपछि रास्वपा कानुनी दबाबमा परेको छ। अब ‘लिगल डिफेन्स फण्ड’मार्फत लामिछानेको पक्षमा कानुनी लडाइँ अघि बढाइने पार्टीले जनाएको छ।