६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गुजरातमा ४५ वर्ष पुरानो पुल भत्किँदा १५ जनाको मृत्यु, चार अझै बेपत्ता

बडोदरा र आनन्दलाई जोड्ने महिसागर नदीमाथिको एक पुरानो पुल भत्किँदा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।



  • एजेन्सीको सहयोगमा
  • १ महिना अघि
  • पाठक संख्या १३९
  • गुजरात, असार २६ - बडोदरा र आनन्दलाई जोड्ने महिसागर नदीमाथिको एक पुरानो पुल भत्किँदा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।

    घटनामा एकै परिवारका तीन सदस्यको ज्यान गएको छ भने अन्य चार जना अझै बेपत्ता रहेका छन्। खोजी तथा उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    बुधबार बिहान अचानक पुल भत्किँदा दुई ट्रक, दुई कार र एक रिक्सा नदीमा खसेका थिए। एक ट्याङ्कर भने पुलको भाँचिएको किनारमा अड्किएको बताइएको छ।

    बुधबार नै १३ जनाको शव फेला परे पनि बिहीबार बिहान थप २ शव नदीबाट निकालिएको छ। बेपत्ता चार जनाको खोजी कार्यमा स्थानीय प्रशासन, गोताखोर टोली र उद्धारकर्मी खटिएका छन्।

    उक्त पुल झन्डै ४५ वर्ष पुरानो भएको र यसले दक्षिण गुजरातलाई सौराष्ट्रसँग जोड्ने मुख्य मार्गको रूपमा प्रयोग हुने गरेको बताइएको छ। पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाड जिल्लाका बासिन्दालाई सौराष्ट्र पुग्न गाह्रो भएको छ। अब वैकल्पिक रूपमा अहमदाबादको बाटो प्रयोग गर्नु पर्ने अवस्था आएको छ।

    प्रशासनले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ भने सुरक्षा मापदण्ड पूरा नगरेका संरचनाहरूको तत्काल निरीक्षण गरिने जानकारी दिएको छ।