काठमाडौं, असार ३० - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारमाथि गम्भीर आरोप लगाउँदै देशको शासन व्यवस्था दलाल र बिचौलियाको नियन्त्रणमा रहेको दाबी गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै प्रचण्डले सरकार जनताको पक्षमा होइन, सत्तामा बसेका केही स्वार्थी समूहको इशारामा चलेको आरोप लगाए। उनले भुटानी शरणार्थी प्रकरण, धितोपत्र बोर्डमा देखिएको अनियमितता, जग्गा घोटाला, भूमाफियाको संरक्षण, विद्युत महसुल मिनाहा लगायतका विवादास्पद मुद्दाहरू सरकारको बिचौलियामुखी चरित्रलाई उजागर गर्ने प्रमाण भएको उल्लेख गरे।
“सरकार नियामक निकायहरूलाई समेत दलालहरूको निर्देशनमा सञ्चालन गर्दैछ,” प्रचण्डले संसदमा भने, “यस्तो अभ्यासले लोकतान्त्रिक मूल्यहरूलाई कमजोर बनाउने खतरा बढेको छ।”
उनले स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया, सुरक्षा निकायमार्फत हुने हतियार खरिद, र सरुवा–नियुक्तिमा हुने पैसाको चलखेलजस्ता विषयप्रति चिन्ता व्यक्त गरे।
प्रचण्डले सरकार सुशासनतर्फ उन्मुख नभई पतनको दिशामा अघि बढिरहेको भन्दै चेतावनी दिए। “अहिले बनेको गठबन्धन स्वाभाविक होइन, अर्बौंको सेटिङ उल्ट्याउन बनेको हो,” भन्दै उनले यस्तो गठबन्धनको वास्तविकता जनताले बुझिसकेको बताए।
उनको भनाइमा हालको शासन प्रणाली न त पारदर्शिता कायम गर्न चाहन्छ, न त मापदण्डको पालना गर्न तयार देखिन्छ, जसले लोकतन्त्रको जग हल्लाउने जोखिम निम्त्याएको छ।
प्रतिक्रिया दिनुहोस