काठमाडौँ, साउन १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको रिहाइको माग गर्दै चलाएको हस्ताक्षर अभियानले हालसम्म देश–विदेशबाट करिब २५ लाख हस्ताक्षर सङ्कलन गरेको जनाएको छ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक दीपक बोहराले साउन ५ गतेदेखि वडा–वडामा घरदैलो हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
उनका अनुसार रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएकोमा रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै असार ७ गतेदेखि अभियान सुरु गरेको थियो।
“देशभित्र र विदेशमा रहेका नागरिकमार्फत हस्ताक्षर आउने क्रम जारी नै छ। यसले सङ्ख्या अझै बढ्न सक्छ,” बोहराले बताए।
पार्टीका अनुसार पाँच लाख नागरिकले लामिछानेको अपिल प्राप्त गरेका छन् भने दुई लाखले हस्ताक्षर फारम भरेर फिर्ता पठाइसकेका छन्। अहिलेसम्म अभियानमा झन्डै ५९ लाख ६८ हजार रुपैयाँ खर्च भएको समेत जानकारी दिइएको छ।
रास्वपाले सातै प्रदेश र दुई अन्य केन्द्रबाट २४ लाख ५७ हजार ६१८ हस्ताक्षर सङ्कलन भइसकेको उल्लेख गरेको छ। पार्टीले यो अभियानलाई थप सशक्त बनाउने भन्दै स्थानीय स्तरसम्म विस्तार गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस