विराटनगर, साउन २ – मोरङको विराटनगरस्थित रानी इलाका प्रहरी कार्यालयमा तीन जना श्रमिकमाथि निर्घात कुटपिट भएको आरोप लागेको छ।
ट्रान्सफर्मर चोरीको विषयमा सोधपुछका लागि बोलाइएका श्रमिकहरूमध्ये एक जना गम्भीर घाइते भएका छन् भने दुई जना सामान्य घाइते भएका छन्।
पीडितहरूमा बुढीगंगा गाउँपालिका–४ निवासी ३९ वर्षीय नासिर मिया, ३० वर्षीय कासी शर्मा र ३४ वर्षीय रमान मिया रहेका छन्। उनीहरू ‘जनसेद मिया मल्टिप्रपोज प्रालि’मा कार्यरत छन्, जसले मोरङ–सुनसरी क्षेत्रमा ट्रान्सफर्मर मर्मत तथा जडानको जिम्मा लिएको छ।
कम्पनीका सञ्चालक जनसेद मियाका अनुसार केही दिनअघि एक जना ‘दावा शेर्पा’ नाम बताउने व्यक्तिले आफूहरूलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएको बताए पनि पछि रानी इप्रकामा उपस्थित हुन निर्देशन दिइएको थियो। सोही क्रममा उनीहरूमध्ये तीन जनालाई सादा पोसाकका प्रहरीले छुट्टाछुट्टै कोठामा लगेर पाइप र बुटले कुटपिट गरेका थिए।
“कासीलाई पाइपले, नासिरलाई बुट र थप्पडले प्रहार गर्दा कानको जाली नै फुट्यो। रमानलाई पनि मारपीट गरिएको थियो,” सञ्चालक मियाले बताए। कुटपिटपछि नासिर मियाको अवस्था गम्भीर बनेपछि उनलाई कोशी अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको कानको जाली फाटेको छ भने टाउकोमा पनि गहिरो चोट लागेको आशंका गरिएको छ।
पीडितहरूको भनाइअनुसार, प्रहरी पक्षले घटनाबारे सार्वजनिक गरे लागुऔषध मुद्दामा फसाइदिने धम्कीसमेत दिएको थियो। डरका कारण उनीहरू घर फर्किए पनि नासिरको अवस्था गम्भीर भएपछि अस्पताल लानुपरेको थियो।
यस सम्बन्धमा रानी इप्रकाका प्रहरी निरीक्षक कविन राईले भने घटनाबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन्। “दावा नामको कुनै प्रहरी हामीकहाँ छैन र उनीहरू यहाँ आएको कुनै औपचारिक रेकर्ड पनि छैन,” उनले भने, “तर घटनाबारे जानकारी आएपछि म आफैं अनुसन्धान अघि बढाइरहेको छु।”
यस घटनाले प्रहरीको भूमिकाप्रति गम्भीर प्रश्न उठाएको छ भने पीडितहरूलाई न्याय दिन र दोषी पहिचान गर्न सार्वजनिक दवाब बढ्दै गएको छ।
प्रतिक्रिया दिनुहोस